महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ बाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषधसहित एक जनप्रतिनिधिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ निवासी तथा सोही वडाकी बहालवाला वडासदस्य रूपा जैरू रहेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई भीमदत्त–१८ कटानस्थित गौरा मन्दिर टोलबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार सो क्षेत्रमा अवैध लागुऔषधको ठूलो कारोबार र ओसारपसार भइरहेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थाहा भएको छ। सोही सूचनाका आधारमा गस्तीमा निस्किएको प्रहरी टोलीले वडासदस्य जैरूलाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो।
प्रहरीले आज सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार महिला प्रहरीको सहयोगमा उनको शरीर खानतलासी गर्दा उनको दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोभित्र लुकाइछिपाइ राखिएको अवस्थामा घातक प्रतिबन्धित लागुऔषध फेला परेको हो।
जनताबाट चुनिएकी जनप्रतिनिधि नै लागुऔषध ओसारपसार र कारोबारमा संलग्न रहेको भेटिएपछि स्थानीयबासी अचम्मित भएका छन्। प्रहरीले पक्राउ परेकी वडासदस्य रूपा जैरूमाथि लागुऔषध सम्बन्धी कसुर (क्राइम) अन्तर्गत कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।