नवलपरासी पूर्व–पश्चिम । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र मातहतको इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त गस्ती टोलीले ठूलो परिमाणमा अवैध सामानहरू बरामद गरेको छ। बर्दघाट नगरपालिका वडा नं. ११ गैडाहास्थित भित्री सडक खण्डको भुइँमा वा बाटोको छेउमा बेवारिसे रूपमा लुकाई–छिपाई राखिएको अवस्थामा ती सामान फेला परेका हुन्।
प्रहरीका अनुसार असार ७ गते राति अन्दाजी साढे १० बजेको समयमा नियमित गस्तीमा रहेको टोलीले उक्त अवैध वस्तुहरू नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानहरूको बजार मूल्य अन्दाजी रू. २७ लाख १९ हजार १८४ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन थापाका अनुसार बरामद गरिएका यी सबै सामग्रीहरू भन्सार छली गरेर नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आवश्यक कानुनी कारबाही र थप प्रक्रियाका लागि उक्त सामानहरूलाई आजै महेशपुर भन्सार कार्यालय नवलपरासी (ब.सु.प.) मा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ।