विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ अनुकरण मार्गमा एक युवकले अन्धाधुन्ध छुरा प्रहार गर्दा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानसहित तीन जना गम्भीर घाइते भएका छन्। स्थानीय मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार छुरा प्रहार गरेका हुन्।
प्रहरीका अनुसार कार्कीलाई थप उपचार र सुधारका लागि काठमाडौँस्थित एक सुधार गृहमा पठाउने तयारी भइरहेको थियो। सोही क्रममा उनले रिसको झोकमा कोठा थुनेर आत्महत्या गर्न खोजेको सूचना स्थानीयले दिएपछि सीआरभी (ऋच्ख्) भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
सुधार गृहका कर्मचारी, आफन्त तथा प्रहरी टोलीले कोठाबाहिरबाट सम्झाइबुझाइ गरी कोठा खोल्न लगाएका थिए। तर, कोठाभित्र पसेर सम्झाउने क्रममा कार्कीले आफू सुत्ने बेड (ओछ्यान) मा लुकाएर राखेको धारिलो छुरा एक्कासी निकालेर टोलीमाथि प्रहार गरेका थिए।
युवकको अचानकको छुरा प्रहारबाट सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र ‘साथिभाइ नेपाल सुधार गृह’का कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। छुरा प्रहारबाट तीनै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते तीनों जनाको अवस्था हाल सामान्य रहेको र उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर पठाइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट थप उच्च अधिकारीसहितको प्रहरी टोली घटनास्थल खटिएको छ। छुरा प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी समन्वयको कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ।