काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको इतिहास र ऐतिहासिक व्यक्तित्वहरूको मूल्याङ्कन गर्दा सन्तुलित र तथ्यपरक दृष्टिकोण अपनाउनुपर्ने बताएकी छन्।
श्री ३ महाराज जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र जङ्गबहादुर’ विषयक कार्यक्रममा बोल्दै उनले इतिहासलाई केवल प्रशंसा वा आलोचनाको विषयका रूपमा नभई त्यस समयको परिस्थिति, उपलब्धि र प्रभावका आधारमा हेर्नुपर्ने धारणा राखिन्। भण्डारीले राजनीतिक अस्थिरता र शक्ति संघर्षको पृष्ठभूमिमा जङ्गबहादुरको उदय भएको उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई व्यवस्थित र संस्थागत बनाउन भूमिका खेलेको बताइन्। वि.सं.१९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको प्रारम्भिक कानुनी संहिताका रूपमा लिन सकिने उनको भनाइ थियो। यद्यपि, उक्त ऐनमा तत्कालीन समाजका केही असमानताका पक्ष प्रतिबिम्बित भएकाले त्यसको मूल्याङ्कन पनि समयको सन्दर्भमा गर्नुपर्ने उनले बताइन्। उनले जङ्गबहादुरले सती प्रथालाई निरुत्साहित गर्न थालेको प्रयासलाई सामाजिक सुधारको एउटा महत्वपूर्ण कदमका रूपमा उल्लेख गरिन्।
साथै, १९औँ शताब्दीमा औपनिवेशिक विस्तारको चुनौतीबीच नेपालले आफ्नो सार्वभौमिकता जोगाउन सफल हुनुमा उनको नेतृत्वको योगदान रहेको धारणा व्यक्त गरिन्। भण्डारीका अनुसार बेलायत भ्रमणपछि जङ्गबहादुरले अवलम्बन गरेको कूटनीतिक नीतिले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्ध व्यवस्थापनमा सहयोग पुर्याएको थियो। उनले नेपाल–ब्रिटिश भारत सीमाना व्यवस्थापनका क्रममा स्थापना गरिएका जङ्गे पिलरहरूले सीमाको स्पष्टता र प्रशासनिक स्थायित्व कायम गर्न मद्दत गरेको पनि बताइन्। उनले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवर्द्धनलाई समान रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन्।