काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ दिशातर्फ अघि बढाउने महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनले नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गर्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार विगतका विकृति र विसंगतिलाई पछाडि छाड्दै देशलाई परिवर्तनको मार्गमा लैजाने जिम्मेवारी रास्वपाको काँधमा आएको छ। यादवले वर्तमान संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धिहरू समेटिए पनि केही पक्ष अझै अपूर्ण र सुधारयोग्य रहेको बताए। उनले संविधानभित्र रहेका कमजोरी र विरोधाभासलाई समयअनुकूल परिमार्जन गर्न आवश्यक रहेको धारणा राखे। उनले संविधान संशोधन र परिमार्जन अहिलेको प्रमुख राजनीतिक आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि राजनीतिक दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। साथै लोकतन्त्रलाई थप सुदृढ, समावेशी र जनउत्तरदायी बनाउन संविधानका अपूर्ण पक्षहरूलाई सम्बोधन गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।