काठमाडौँ । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजसंस्था पक्षधर मतदाताको पनि समर्थन रहेको बताएका छन्।
महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका केही मतदाताले राप्रपालाई नभई रास्वपालाई मत दिएको दाबी गरे। विशेषगरी काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहप्रति विश्वास राख्ने केही मतदाताले रास्वपालाई समर्थन गरेको उनको भनाइ थियो। लिङ्देनले रास्वपाले जनताबाट ठूलो अपेक्षा र विश्वास प्राप्त गरेको उल्लेख गर्दै त्यसअनुसार जिम्मेवारी पनि बढेको बताए। उनले जनताले व्यक्त गरेका चाहना र आकांक्षालाई सम्बोधन गर्न रास्वपाले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे। उनका अनुसार विभिन्न विचार र पृष्ठभूमिका नागरिकले परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेका छन्, त्यसैले जनविश्वासलाई परिणाममा रूपान्तरण गर्नु पार्टीको प्रमुख दायित्व हुने उनले बताए।