काठमाडौँ । काठमाडौँस्थित निसर्ग बाटिका स्कुलको आयोजनामा सम्पन्न ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पा सदन सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ।
रातोपुलमा रहेको निसर्ग बाटिका स्कुलमा हिजो शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुष्पा सदनले कुल १२ अंकका साथ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा राराहिल मेमोरियल स्कुल दोस्रो स्थानमा रहँदा स्वर्णिम स्कुल तेस्रो स्थानमा सीमित भयो। व्यक्तिगततर्फ एलआरआईका सुजल माडाई १४५ अंकका साथ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने भने पुष्पा सदनका मातृका बुढाथोकी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।
लिगमा एलआरआई चौथो, न्यु जेनिथ इङ्लिस मोडेल स्कुल पाँचौँ, निसर्ग बाटिका स्कुल छैटौँ, भ्याली भ्यु स्कुल सातौँ र हिल–टाउन सेकेन्डरी स्कुल आठौँ स्थानमा रहे। आयोजकका अनुसार यो प्रतियोगिता विद्यार्थी खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने, सीप विकास गर्ने र प्रतिस्पर्धात्मक वातावरणमा वास्तविक खेल अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर बनेको छ। साथै, यसले नेपालको बास्केटबल क्षेत्रको भविष्यमा योगदान पुर्याउँदै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।