चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। चितवनमा आज (आइतबार) देखि सुरु भएको महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीको निर्वाचन आयोगले कार्यतालिका बाहिर ल्याएको हो।
निर्वाचन आयोगद्वारा जारी कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली आजै बिहान सार्वजनिक गरिनेछ। प्रतिनिधिहरूले आफ्नो नामावली पार्टीको आधिकारिक मोबाइल एप (ःयदष्भि ब्उउ) र वेबसाइटमार्फत सहजै हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
प्रारम्भिक नामावली प्रकाशन भएलगत्तै दाबी–विरोधका लागि समय तोकिएको छ। प्रतिनिधिहरूले नाम, विवरण वा अन्य प्राविधिक त्रुटि देखिएमा उजुरी तथा दाबी पेश गर्न सक्नेछन्। प्राप्त उजुरीहरूको छानबिन र फस्र्यौट गरेपछि मात्रै मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारी फाराम वितरण तथा दर्ता प्रक्रिया सुरु हुनेछ। केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि चुनाव लड्न इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्नेछ।
उम्मेदवारी दर्तापछि प्रारम्भिक उम्मेदवारहरूको सूची सार्वजनिक गरिनेछ। त्यसपछि इच्छुक उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिनका लागि निश्चित समय प्रदान गरिने कार्यतालिकामा उल्लेख छ। नाम फिर्ता लिने समय सकिएपछि अन्तिम उम्मेदवार सूची प्रकाशित गरिनेछ।
त्यसपछि सिधै मतदान प्रक्रिया सञ्चालन हुनेछ, जुन तोकिएको दिन बिहानैदेखि सुरु भई दिउँसोसम्म चल्नेछ। यसअघि नै सचिवालय बैठकले निर्णय गरेबमोजिम यसपटकको महाधिवेशनमा पूर्ण रूपमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएकाले मतदान सम्पन्न भएको केही समयभित्रै अन्तिम परिणाम सार्वजनिक गरिने र रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयन हुने पार्टीले जनाएको छ।
