महेन्द्रनगर । कञ्चनपुरमा आफ्नै श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा भीमदत्त नगरपालिका वडा नम्बर ०४ स्थित क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ०८ तिलाचौर बस्ने ३४ वर्षीय अशोक भट्ट रहेका छन् ।
प्रहरीका अनुसार गत जेठ १५ गते भट्टले आफ्नै घरको भान्सा कोठामा सेलरोटी पकाउँदै गरेकी श्रीमतीमाथि एकाएक तातो तेल खन्याएका थिए । तातो तेलका कारण उनकी श्रीमतीको अनुहार लगायत शरीरका विभिन्न भागहरू गम्भीर रूपमा जलेर जलेका थिए । उक्त बीभत्स अपराध गराएलगत्तै भट्ट घटनास्थलबाट भागी फरार भएका थिए ।
श्रीमती जलाई फरार रहेका अशोक भट्टको विरुद्धमा ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने’ कसुर अन्तर्गत कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।
कञ्चनपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा उनलाई असार ६ गते पक्राउ गरिएको हो। हाल निज अभियुक्तमाथि नियन्त्रणमा राखेर हिरासतमा थप कानुनी अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।