काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार सरकारी पक्षलाई उक्त अभियोग फिर्ता लिन स्वीकृति प्रदान गरेको हो। अदालतको आदेशअनुसार लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधसम्बन्धी कसुर हटाइएको छ। तर सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने अदालतले जनाएको छ। सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सङ्गठित अपराधको अभियोग फिर्ता लिन अनुमति दिएको हो। यो मुद्दा सुमन खनाललगायतले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी र रवि लामिछानेसहित अन्य प्रतिवादी रहेको प्रकरणसँग सम्बन्धित छ।