काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्माको घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनमा प्रहरीले कुटपिट गरेको प्रमाण नदेखिएको बताएका छन्।
शुक्रबार राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले छानबिन प्रतिवेदनअनुसार हिरासतमा रहेका बेला विश्वकर्मामाथि कुनै शारीरिक वा मानसिक यातना दिइएको पुष्टि नभएको जानकारी दिए। उनले उक्त घटनाप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै हालसम्म प्राप्त तथ्यका आधारमा प्रहरीले दुर्व्यवहार गरेको प्रमाण नभेटिएको बताए। यद्यपि भविष्यमा नयाँ तथ्य वा प्रमाण फेला परे त्यसबारे आवश्यक जानकारी गराइने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीभित्र दलित समुदायका सवाल सम्बोधन गर्न ‘दलित सेल’ सञ्चालनमा ल्याइएको जानकारी पनि दिए। बैठकमा सांसद सुनारले जातीय विभेद, अन्तरजातीय विवाहका कारण हुने हिंसा तथा दलित समुदायमाथि भइरहेका घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए। उनले हिरासतमा भएको मृत्युको घटनाबारे पनि थप स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए। यसै क्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र बैठकमा पढेर सुनाएका थिए।