काठमाडौँ । उपभोक्ता समितिले सम्पन्न गरेको सडक ढलान योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिने महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा सोनमा गाउँपालिका अन्तर्गत सडक ढलान योजना सञ्चालन गर्नका लागि सम्झौता भई, सोही सम्झौता अनुसारको कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको खुलेको तर, प्रमुख प्रशासकीय अधिकृत यादवले उपभोक्ता समितिलाई भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई, दुःख हैरानी दिँदै बार्गेनिङ गरेर घुस मागेको अख्तियारले जनाएको छ ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७२ हजा कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।