काठमाडौँ। ताप्लेजुङस्थित मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण प्रस्तावित केवलकार परियोजनालाई लिएर लामो समयदेखि देखिएको विवाद समाधान गर्न सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले उक्त जानकारी दिएकी छन्। कार्यदललाई केवलकार निर्माणसँग सम्बन्धित विवाद, असहमति र सरोकारका विषयहरूको अध्ययन गरी समाधानका लागि सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ। विभिन्न पक्षको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको कार्यदलमा सरकारी निकाय, पाथीभरा क्षेत्र विकास समिति, केवलकार परियोजना प्रवर्द्धक कम्पनी तथा परियोजनाप्रति असहमति जनाउँदै आएका पक्षका प्रतिनिधिहरू समावेश छन्। त्यसैगरी गृह मन्त्रालयका एक उपसचिव र प्रधानमन्त्री सचिवालयका प्रतिनिधि पनि कार्यदलका सदस्य रहेका छन्। सरकारले सरोकारवालाबीच संवाद र सहमतिमार्फत विवाद समाधान गर्ने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ।