काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीको पछिल्लो कार्यशैली र अभिव्यक्तिप्रति प्रश्न उठाउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवैधानिक आयोगका पदाधिकारीहरूमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हस्तक्षेप र दुर्व्यवहार भएको भन्ने समाचारप्रति गम्भीर चासो व्यक्त गरिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लामो समयसम्म रोकेर दबाब दिइएको भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्। ओलीले कूटनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिमाथि समेत अनुचित व्यवहार भएको भन्ने समाचार सार्वजनिक हुँदा नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्न सक्ने बताइन्।
उनले संस्थागत प्रणालीभन्दा व्यक्तिको इच्छाअनुसार शासन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको आरोप समेत लगाइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राज्यका निकायहरूबीच समन्वय गर्ने, संवैधानिक संस्थाहरूको स्वतन्त्रता सुनिश्चित गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने भूमिका निर्वाह गर्नुपर्ने भए पनि पछिल्ला घटनाक्रमले त्यसविपरीत संकेत गरेको उनको भनाइ थियो। उनले प्रधानमन्त्रीका केही अभिव्यक्ति र व्यवहारले मुलुकको संवैधानिक मर्यादा तथा राष्ट्रिय हितमाथि प्रश्न उठाएको उल्लेख गर्दै सरकार थप जिम्मेवार, पारदर्शी र जवाफदेही बन्नुपर्ने आवश्यकता औँल्याइन्।