काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले संसद् र सरकार दुवै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले सत्ता पक्ष र प्रतिपक्षबीच संवादको कमी बढ्दै गएको भन्दै यसले संसदीय अभ्यासलाई कमजोर बनाउने चेतावनी दिए।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रतिपक्षले उठाएका विषयलाई सत्ता पक्षले गम्भीरतापूर्वक सुन्नुपर्ने धारणा राखे। उनले संसद् प्रभावकारी बनाउन सबै दलबीच सहकार्य र संवाद आवश्यक रहेको बताए। नेतृत्वको आचरण र नैतिकतामाथि टिप्पणी गर्दै उनले पद वा बाह्य पहिचानले मात्र जिम्मेवारी पुष्टि नहुने उल्लेख गरे। जनप्रतिनिधिमा नैतिकता, इमान्दारिता र जवाफदेहिता अपरिहार्य रहेको उनको भनाइ थियो।
राईले बजेट सम्बन्धी कागजात समयमै उपलब्ध नगरिएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे। विशेषगरी रक्षा मन्त्रालयको बजेट पुस्तिका अझै प्राप्त नभएको भन्दै यसबारे सरकारसँग स्पष्ट जवाफ मागे। साथै सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरणमा पनि स्पष्टता र पारदर्शिताको अभाव देखिएको उनको दाबी थियो। उनले भारतको पटनामा केही नेपाली नागरिक नेटवर्किङ व्यवसायको नाममा ठगीमा परेको र बन्धक बनाइएको भन्ने जानकारी आएको उल्लेख गर्दै उनीहरूको शीघ्र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। वैदेशिक रोजगारीको प्रसंग उठाउँदै राईले पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली युवाहरू विदेशिन बाध्य भएको बताए। उनले देशभित्रै सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।