काठमाडौँ। रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले रुसी राजधानी मस्कोमाथि सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ।
प्राप्त विवरणअनुसार युक्रेनले मस्को क्षेत्रलाई लक्षित गर्दै करिब २०० वटा ड्रोन प्रहार गरेको थियो। आक्रमणपछि विभिन्न स्थानमा बाक्लो धुवाँ देखिएको बताइएको छ। मस्को क्षेत्रका गभर्नर एन्ड्रेई भोरोबियोफका अनुसार घटनामा कम्तीमा १७ जना घाइते भएका छन्। यता, रुसी रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा युक्रेनद्वारा प्रक्षेपण गरिएका करिब १,००० ड्रोन तथा क्रूज मिसाइललाई निष्क्रिय पारिएको दाबी गरेको छ। यसैबीच, रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको एक तेल भण्डारण केन्द्र पनि आक्रमणको निशानामा परेको छ। उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।