काठमाडौँ। चिनियाँ प्रविधि कम्पनी हुवावेका एसिया–प्रशान्त क्षेत्रीय अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।
मन्त्रालयमा भएको भेटमा अध्यक्ष हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक प्रविधि, अनुभव र स्रोतसाधन हुवावेसँग रहेको बताए। उनले डिजिटल नेपाल अभियानलाई सफल बनाउन दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, डेटा सेन्टर निर्माण, कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ तथा स्वच्छ ऊर्जा प्रविधिका क्षेत्रमा सहकार्य गर्न हुवावे तयार रहेको जानकारी दिए। भेटका क्रममा सञ्चारमन्त्री डा। तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै देशभर गुणस्तरीय र भरपर्दो सेवा विस्तारमा सरकार केन्द्रित रहेको बताए। उनले नेपालमा लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवामा संलग्न हुवावेले आफ्नो कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
मन्त्री तिमिल्सिनाले सेवा प्रवाहमा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न आग्रह गर्दै नागरिकले सहज र गुणस्तरीय सेवा पाउने विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए। नेपाल टेलिकमको सेवाबारे नागरिकबाट विभिन्न गुनासो आउने गरेको उल्लेख गर्दै उनले प्राविधिक समस्या समाधानका लागि नेपाल टेलिकम र हुवावेबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। साथै, नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले बिचौलिया प्रवृत्तिलाई निरुत्साहित गरी नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।