काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग आवश्यक कानुन निर्माणका प्राथमिकता र आगामी कार्ययोजनाबारे छलफल गरेकी छन्।
बिहीबार भएको भेटवार्तामा दुवै मन्त्रीले मन्त्रालयगत आवश्यकता, कानुन निर्माणका लक्ष्य तथा कार्यान्वयनका विषयमा विचार आदानप्रदान गरेका हुन्। छलफलका क्रममा मन्त्री गौतमले कानुन निर्माणको प्राथमिकता तय गर्दा मन्त्रालयहरूबीच समान बुझाइ आवश्यक रहेको बताइन्। उनले लक्ष्यहरू महत्वाकांक्षी मात्र नभई व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिइन्। उनले विधेयक तयारी गर्दा समयसीमा यथार्थपरक बनाउन र कानुन निर्माण प्रक्रियालाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह समेत गरिन्। श्रममन्त्री यादवले बदलिँदो विश्व परिवेशअनुसार युवा र रोजगारीसँग सम्बन्धित नयाँ चुनौतीलाई सम्बोधन गर्ने कानुन तथा नीति आवश्यक रहेको बताए।
उनले आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे। यादवले आवश्यक कानुन र बजेटको अभावका कारण मन्त्रालयका केही योजना कार्यान्वयनमा कठिनाइ भइरहेको उल्लेख गर्दै राष्ट्रिय रोजगार नीतिसम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए। मन्त्रालयका अनुसार हालसम्म तयार भएका विधेयकहरूको अवस्था समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक कानुन निर्माणको साझा कार्ययोजना तय गर्न यस्तो छलफल गरिएको हो। कानुन मन्त्री गौतमले सरकारको सयबुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण तथा संशोधन प्रक्रियालाई तीव्रता दिन विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेकी छन्।