काठमाडौँ । भिजिट भिसा (पर्यटक) का नाममा खाडी मुलुकतर्फ जान लागेका २७ जना नेपाली महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बुधबार राति फ्लाई दुबईको फरक–फरक उडानमार्फत ओमानको राजधानी मस्कटतर्फ उड्न लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महिलाहरू २२ देखि २९ वर्ष उमेर समूहका छन्। उनीहरू भिजिट भिसामा विदेश जान लागेको कुरामा शंका लागेपछि विमानस्थल अध्यागमन र प्रहरीले निगरानी बढाएको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार नियन्त्रणमा लिइएका महिलाहरूका साथमा ओमानको भिसा, हवाई टिकट र होटल बुकिङका कागजातहरू दुरुस्त थिए। तर, अध्यागमनले उनीहरूको पासपोर्ट गहन रूपमा जाँच गर्दा सोही पासपोर्टमा कुवेतको भिसा समेत भेटिएको थियो।
नेपाल सरकारले महिलाका निम्ति घरेलु कामदारका रूपमा कुवेत जान प्रतिबन्ध लगाएका कारण मानव तस्करहरूले नयाँ रुट प्रयोग गरेको प्रहरीको निष्कर्ष छ। फ्लाई दुबईको उडानबाट ओमानको मस्कट पु¥याउने र त्यहाँबाट अवैध रूपमा कुवेत छिराउने गिरोहको योजना रहेको अनुसन्धानबाट खुलेको छ।
सुरक्षा स्रोतका अनुसार यसरी अवैध रूपमा कुवेत पु¥याइएका महिलाहरूलाई स्थानीय एजेन्टहरूले अनुहार हेर्दै छानेर घरेलु कामदार (हाउसमेड) का रूपमा विभिन्न घरहरूमा बेच्ने प्रचलन छ। विगतमा यसरी पुगेका नेपाली महिलाहरूले चरम शारीरिक यातना, श्रम शोषण र यौनजन्य हिंसा भोग्नुपरेका कयौँ घटनाहरू सार्वजनिक भइसकेका छन्।
अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिइएका महिलाहरूलाई सुरक्षित स्थानमा राखेर सोधपुछ गरिरहेको छ भने उनीहरूलाई भिजिट भिसाको नाममा विदेश पठाउन खोज्ने मेनपावर तथा दलाल (मानव तस्कर) हरूको गिरोहको खोजी कार्य तीव्र पारेको छ।