काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सबै जनअपेक्षा एकै पटक एउटै बजेटबाट पूरा गर्न नसकिने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासमार्फत देशको आर्थिक, सामाजिक र शैक्षिक उन्नति सम्भव हुने बताए। मन्त्री श्रेष्ठले जलस्रोतको अपार सम्भावना भए पनि लामो समयसम्म सबै नागरिकमा विद्युत् पहुँच पुर्याउन नसकिएको स्वीकार गरे। साथै, ऊर्जा खपतका हिसाबले नेपाल अझै छिमेकी मुलुकहरूको तुलनामा कमजोर रहेको पनि उल्लेख गरे। उनका अनुसार सीमित स्रोतसाधन, पुराना दायित्व र बढ्दो जनअपेक्षाबीच सन्तुलन कायम गर्नु सरकारका लागि चुनौतीपूर्ण छ। सबै अपेक्षाहरूलाई एकैपटक एउटै बजेटले पूरा गर्न सकिँदैन, उनले भने। उनले यस बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा अघि बढाइएको समेत बताए।