काठमाडौँ । पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि बयान दिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेली गरेपछि पूर्वमन्त्री आरजु राणा देउवाले इमेलमार्फत आफ्नो जवाफ पठाएकी छन्।
अख्तियारले बूढानीलकण्ठस्थित निवासमा तीन दिनभित्र उपस्थित हुन भन्दै म्याद तामेली गरेको थियो। त्यसपछि राणाले आफू हाल उपचारका लागि विदेशमा रहेको भन्दै तत्काल उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत गराएको स्रोतले जनाएको छ। उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै स्वास्थ्य अवस्थाका कारण तत्काल उपस्थित हुन नसक्ने बताएको बताइएको छ। यस प्रकरणमा राहदानी ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको छ। कागजी रूपमा प्रत्यक्ष संलग्नता नदेखिए पनि ठेक्का डिजाइन र प्रक्रियासम्बन्धी निर्णयमा अनौपचारिक रूपमा संलग्नता भएको उजुरीमा उल्लेख गरिएको छ।