काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक र पुललगायत पूर्वाधार आयोजनामा बजेट न्यून देखिएको गुनासोबारे स्पष्टिकरण दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले एक वर्षे (सिङ्गल इयर) नभई बहुवर्षीय (मल्टी इयर) बजेट प्रणालीलाई प्राथमिकता दिएको बताए। उनका अनुसार समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत गरी ठेक्का प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। यसले ठेक्का प्रक्रिया पूरा गर्न लाग्ने समय घटाएर निर्माण कार्य छिटो अघि बढाउन मद्दत गर्ने उनको भनाइ छ। मन्त्री लम्सालले अहिले समान प्रकृतिका आयोजनाहरूलाई अलग–अलग रूपमा अघि बढाउँदा ढिलाइ हुने भएकाले बहुवर्षीय ढाँचामा समेटिएको स्पष्ट पारे।उनले भने, “हामीले यो वर्ष करिब २८६ अर्ब रुपैयाँ बजेट भए पनि करिब १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य राखेका छौँ। उनका अनुसार यसरी ठेक्का प्रक्रिया छिटो अघि बढ्दा निर्माण कार्यका लागि थप समय उपलब्ध हुने र परियोजनाको कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको छ।