काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज सुरक्षा निकायका प्रमुखहरूसँग बसेको विशेष बैठकमा गृहमन्त्री गुरुङले परम्परागत कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन् ।
बैठकमा विगतको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै गृहमन्त्री गुरुङले भने, “हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ।”
अघिल्ला सरकारहरूका पालामा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने बहानामा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले कडा एक्सन लिएका छन् । उनले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिएका छन् ।
गृहमन्त्री गुरुङले आफू स्वयं पनि हेलिकप्टर नचढ्ने घोषणा गर्दै भने, “म आफैँ पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरूपयोग गर्ने छैन।” अबदेखि उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले स्पष्ट पारे ।
देशका उच्च बाढी–पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देश गर्दै गृहमन्त्रीले ‘शून्य मानवीय क्षति’ को लक्ष्य राख्न आग्रह गरे । उनले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै भने, “सबै निकाय एकीकृत टोली (टिम) बनेर काम गर्ने हो भने विपद्मा कसैले पनि ज्यान गुमाउनु पर्दैन। विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्।”
उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना) का प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।