काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइँदै ‘टुहुरो र वेवारिसे’ मन्त्रालयजस्तै व्यवहार गरिएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयलाई नयाँ मानिए पनि यो २०५३ सालमै स्थापना भएको स्पष्ट पारे। उनका अनुसार मन्त्रालय विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग गाभिँदै आएको कारण यसको स्वतन्त्र पहिचान कमजोर बनेको थियो। २०७५ सालमा शिक्षा मन्त्रालयसँग जोडिएपछि अझै उपेक्षित बनेको उनले बताए। मन्त्री पुनले हाल यसलाई ‘सातौँ पुनर्जीवन’ प्राप्त गरेको मन्त्रालयका रूपमा व्याख्या गर्दै विगतमा राजनीतिक भागबण्डा र अस्थिर नीतिका कारण यसको प्रभावकारिता कमजोर बनेको उल्लेख गरे।
उनले भने, “यो मन्त्रालयको सातौँ पुनर्जन्म हो। विगतमा राजनीतिकरण र भागबण्डाको राजनीतिले यसलाई कमजोर बनायो, जसले गर्दा यो लामो समयसम्म उपेक्षित रह्यो। अहिलेको सरकारले यसलाई पुनः सक्रिय बनाएको छ। मन्त्री पुनले आफू व्यक्तिगत महत्वाकांक्षाका कारण नभई देशप्रतिको माया र जिम्मेवारीबोधका कारण राजनीतिमा आएको पनि स्पष्ट पारे। उनका अनुसार आफू सुरुमा अमेरिका बसाइपछि गाउँ फर्किएको र क्रमशः देशप्रतिको लगाव बढ्दै गएर अहिलेको जिम्मेवारीमा पुगेको हो। उनले विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत देशको समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।