काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०–२८ प्रतिशत रहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातमा केही घटे पनि वास्तविक रकम भने करिब सात अर्ब रुपैयाँले बढेको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट संकेत गर्ने उनले बताए।
मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये ६९.०७ प्रतिशत रकम स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको जानकारी दिए। विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले बजेटको ठूलो हिस्सा त्यहीँ पठाइएको उनको भनाइ थियो। त्यस्तै २.१२ प्रतिशत बजेट प्रदेश सरकारमार्फत खर्च गरिनेछ। उनका अनुसार शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको कुल बजेटमध्ये १ खर्ब ५० अर्ब ५८ करोड ८९ लाख रुपैयाँ अर्थात् करिब ६९ प्रतिशत रकम तलब तथा पेन्सनमा खर्च हुनेछ। उपक्षेत्रगत रूपमा विद्यालय शिक्षाले सबैभन्दा ठूलो हिस्सा पाएको छ। विद्यालय शिक्षाका लागि ६९.४९ प्रतिशत बजेट विनियोजन गरिएको छ भने उच्च शिक्षाका लागि ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि २.५६ प्रतिशत तथा व्यवस्थापनतर्फ १५.१७ प्रतिशत बजेट छुट्याइएको छ।
मन्त्री पोखरेलले विद्यालय पूर्वाधार विकासलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए। गोरखा भूकम्पबाट प्रभावित १४ जिल्ला तथा पश्चिम नेपालका बझाङ, जाजरकोट, रुकुम पश्चिम, मनाङ र मुस्ताङबाहेकका स्थानीय तहका विद्यालयहरूमा विद्यार्थी सङ्ख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाख रुपैयाँसम्म बजेट व्यवस्था गरिएको उनले जानकारी दिए। स्थानीय तहसँगको साझेदारीमा विद्यालय भवन निर्माण तथा भौतिक पूर्वाधार सुधारका लागि गुरुयोजनाको आधारमा २ अर्ब ३७ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री पोखरेलले बताए। उनले विद्यालय पूर्वाधार सुदृढीकरण र शैक्षिक गुणस्तर सुधारका लागि सरकारले आवश्यक स्रोत सुनिश्चित गरेको समेत उल्लेख गरे।