काठमाडौँ। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेल ले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले हालै संसदमा व्यक्त गरेको भनाइप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आएको करिब तीन साता बितिसक्दा पनि कुनै स्पष्टीकरण वा आत्मालोचना नआएको उल्लेख गरे। प्रधानमन्त्रीको भनाइले देश र नागरिकको भावना आहत भएको उनको आरोप थियो। सांसद पोखरेलले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रहितविपरीत रहेको दाबी गर्दै त्यसबारे सदनलाई जानकारी गराउन आग्रह गरे।
उनले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ अभिलेखबाट हटाउनुपर्ने मागसमेत गरे। साथै, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने उनको भनाइ थियो। त्यसैगरी, उनले कर छली गरेर नेपाल भित्र्याइएको भनिएको बीवाईडी गाडी प्रकरण सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरे। उक्त विषयमा निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिँदै उनले सरकारलाई जवाफदेही बन्न आग्रह गरे। सांसद पोखरेलले सीमा सम्बन्धी अभिव्यक्ति र बीवाईडी गाडी प्रकरण दुवै विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको भन्दै संसदमार्फत सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।