काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा र सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरकी एक बालविकास सहजकर्ता विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाइरहेको भन्ने उजुरी परेपछि अख्तियारको टङ्गालस्थित केन्द्रीय कार्यालयले यस विषयमा विस्तृत अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनले जय भवानी माध्यमिक विद्यालयमा बालविकास सहजकर्ता जस्तो राष्ट्रसेवकको पद र ओहदा प्राप्त गर्नका लागि कक्षा ८ र एस.एल.सी.को लब्धाङ्क पत्रका साथै चरित्र प्रमाणपत्र नक्कली बनाएर पेश गरेको पुष्टि भएको अख्तियारले जानकारी दिएको छ । नक्कली कागजात खडा गरी राज्यकोषबाट लाभ तथा सरकारी सेवा सुविधाहरू लिएको पुष्टि भएपछि अख्तियारले राईविरुद्ध मुद्धा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादी बिना कुमारी राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको व्यवस्थाअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित आज बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।