काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई खुसीसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै यसबाट देशको आम्दानी वृद्धि गर्न सकिने बताएका छन्।
बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको माध्यमका रूपमा विकास गरिने बताए। मन्त्री पौडेलका अनुसार पशुपति र लुम्बिनी विकाससँग सम्बन्धित आयोजनाहरू आफ्नै आन्तरिक कोषमार्फत सञ्चालन हुने भएकाले बजेटमा छुट्टै समावेश नगरिएको हो। उनले ७७ वटै जिल्लामा कम्तीमा एक–एक वटा दलित होमस्टे सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै यसले दलित समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा योगदान पुर्याउने बताए। यस्तै, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई शैक्षिक भ्रमण अनुदान उपलब्ध गराइने पनि उनले जानकारी दिए। मन्त्री पौडेलले पर्यटनमार्फत सामाजिक समावेशिता, स्थानीय रोजगारी र आर्थिक अवसर विस्तार गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाइएको बताए।