काठमाडौँ । विवाहको प्रलोभन देखाई र आफू अमेरिकामा रहेको झुटो बहाना बनाएर सामाजिक सञ्जालमार्फत १५ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने एक दम्पतीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको माछापोखरी बस्ने ३९ वर्षीय संजिव नेपाली र उनकी ३३ वर्षीया श्रीमती अनुष्का भन्ने सरिता पराजुली रहेका छन्।
साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार उनीहरूले टिकटक र ह्वाट्सएपको दुरुपयोग गरी एक पीडित महिलालाई पटक–पटक गरी कुल रू. १५ लाख १० हजार ५सय रुपैयाँ ठगी गरेका थिए।
पक्राउ परेका संजिव नेपालीले टिकटकमा फेक आईडी बनाएका थिए। उनले आफू अमेरिकामा रहेको, नेपाली बोल्न नआउने र आफ्नो नाम ‘प्रिन्स तामाङ’ भएको भन्दै अंग्रेजी भाषामा मात्र कुराकानी गर्थे। उनले टिकटकमा आफ्नो अनुहार समेत नलुकाई÷नदेखाई पीडितलाई विवाह गरी अमेरिका लैजाने प्रलोभन र आश्वासन दिएको प्रहरीले जनाएको छ ।
पीडितलाई पूर्ण रूपमा विश्वासमा पारेपछि उनले ह्वाट्सएपमा आफ्नी बहिनी ‘सरगम तामाङ’ भन्दै कुरा गर्न लगाएका थिए। तर, प्राविधिक अनुसन्धान र विश्लेषणका क्रममा ‘प्रिन्स तामाङ’ बनेर अंग्रेजीमा च्याट गर्ने व्यक्ति संजिव नेपाली र ह्वाट्सएपमा बहिनी ‘सरगम तामाङ’ बनेर पैसा असुल्ने व्यक्ति उनकी आफ्नै श्रीमती अनुष्का भन्ने सरिता पराजुली भएको साइबर ब्युरोले पुष्टि गरेको छ।
ठगी धन्दामा श्रीमान्–श्रीमती नै संलग्न रहेको खुलेपछि ब्युरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई असार २ गते काठमाडौँको माछापोखरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ब्युरोले हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको छ।
