काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेसँगै विश्वका धेरै एयरलाइन्सले भाडादर वृद्धि गरिरहेका बेला नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु तान्न विभिन्न छुट योजनासहित प्रतिस्पर्धामा उत्रिएका छन्।
मलमास र वर्षायामका कारण यात्रुको संख्या घटेपछि बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सलगायत कम्पनीहरूले वेबसाइट, मोबाइल एप तथा डिजिटल माध्यममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन्। बुद्ध एयरले धनगढी, सुर्खेत, नेपालगञ्ज, भद्रपुर र भैरहवा गन्तव्यका यात्रुहरूलाई निश्चित रकमसम्म छुट उपलब्ध गराइरहेको छ। साथै कम्पनीले माइलेज प्वाइन्टको सुविधा पनि दिएको जनाएको छ।
छुट योजनाका कारण यात्रुहरूले केही राहत महसुस गरेका छन्। यात्रुहरूका अनुसार बढ्दो हवाई भाडाबीच यस्ता अफरले यात्रा खर्च कम गर्न सहयोग पुगेको छ। बुद्ध एयरका मार्केटिङ अफिसर रुपेस जोशीले हालको व्यवस्था भाडादर घटाइएको नभई ‘प्रमोशनल स्किम’ मात्र भएको स्पष्ट पारे। उनका अनुसार यो सुविधा ‘फ्लाइ क्लब’ सदस्यहरूलाई लक्षित गरी लागू गरिएको हो। यद्यपि, एयरलाइन्सहरूबीचको बढ्दो प्रतिस्पर्धा र छुट योजनाले दीर्घकालीन रूपमा कम्पनीहरूको वित्तीय अवस्थामाथि कस्तो प्रभाव पार्छ भन्ने विषय भने चासोको रूपमा हेरिएको छ। केही आन्तरिक वायुसेवा कम्पनीमा कर्मचारीको तलब वितरणमा ढिलाइ भएको चर्चा पनि बजारमा चल्न थालेको छ।