काठमाडौँ । नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी साउदी अरबले काठमाडौँमा एकतर्फी रूपमा सञ्चालन गर्न खोजेको श्रमिक सिप परीक्षण प्रमाणीकरण केन्द्रको काम तत्कालका लागि स्थगित भएको छ। वैदेशिक रोजगार व्यवसायीहरूले ‘साउदीको नयाँ सिन्डिकेट’ भन्दै मङ्गलबार र बुधबार काठमाडौँको बसुन्धरास्थित केन्द्रमै पुगेर चर्को विरोध र नाराबाजी गरेपछि कार्यक्रम रोकिएको हो।
बसुन्धरामा रहेको इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम उद्घाटन गर्ने तयारी भइरहेका बेला व्यवसायीहरूले स्थलगत रूपमै पुगेर बोर्ड र गेटसमेत हटाइदिएका थिए। उक्त उद्घाटन कार्यक्रममा साउदी अरबका राजदूत सहभागी हुने तय भए पनि व्यवसायीहरूको चर्को प्रदर्शन र सुरक्षा संवेदनशीलताका कारण उनी उपस्थित हुन सकेनन्।
साउदी अरबले नेपाली श्रमिकका लागि ‘स्किल सर्टिफिकेसन प्रोग्राम’ अनिवार्य गर्ने तयारी गरेको थियो। यो व्यवस्था लागू भएपछि काठमाडौँमा तोकिएको केन्द्रबाट सिप परीक्षण पास नगरेका श्रमिकले साउदीका लागि श्रम स्वीकृति नै नपाउने प्रस्ताव गरिएको थियो।
सबैभन्दा बढी आपत्ति परीक्षा शुल्कमा रहेको छ। नयाँ नियम अनुसार परीक्षा शुल्क ५० डलर र आरपीएल मूल्याङ्कन शुल्क ५० डलर गरी एक जना श्रमिकमाथि करिब १५ हजार रुपैयाँ अतिरिक्त आर्थिक भार थपिने निश्चित थियो। व्यवसायीहरूले यसलाई गरिब श्रमिकमाथि आर्थिक शोषण गर्ने नयाँ हतियार र बायोमेट्रिक जस्तै अर्को ’सिन्डिकेट’ को रूपमा व्याख्या गर्दै आएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले यो व्यवस्था पूर्ण रूपमा अव्यावहारिक र एकतर्फी रहेको भन्दै खारेजीको माग गरेको छ।
नेपाल र साउदीबिच दक्ष श्रमिक लैजाने विषयमा विभिन्न समयमा सहमति भए पनि यसरी तेस्रो संस्था खडा गरेर श्रमिकसँग मोटो रकम असुल्ने विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार यसबारे मन्त्रालयमा कुनै औपचारिक पत्र वा जानकारी आएको छैन। हाल यस विषयमा साउदी दूतावास र सम्बन्धित निकायसँग बुझ्ने र थप अध्ययन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।