काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न करिब १६ सय नयाँ टेलिफोन टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गुणस्तर कमजोर रहेको स्वीकार गर्दै त्यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए। मन्त्रीका अनुसार हाल देशभर ४ हजार ८२९ साइट सञ्चालनमा छन् भने आवश्यकताका आधारमा थप १ हजार ४४३ साइट पहिचान गरिएको छ। नेपाल टेलिकममार्फत आगामी वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरी पूर्वाधार विस्तार गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए। मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा सुधारका लागि खरिद प्रक्रिया अघि बढाइएको र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित काम भइरहेको स्पष्ट पारे।