काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे।
उनले प्रेस स्वतन्त्रताविरुद्ध हुने कुनै पनि गतिविधिमा सरकारले कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री तिमिल्सिनाले पत्रकारहरूको हकहितसँग सम्बन्धित संस्थाको खारेजीबारे उठेको प्रश्नमा स्पष्टता नआएको बताउँदै, न्यूनतम पारिश्रमिकसम्बन्धी कार्यका लागि स्थायी संस्था अनिवार्य नभएको धारणा राखे। उनका अनुसार आवश्यक परे वैकल्पिक विधिबाट पनि त्यस्ता काम प्रभावकारी रूपमा गर्न सकिन्छ। सरकारले जनताको पैसा केवल रोजगारी सिर्जनाका नाममा अनावश्यक संरचनामा खर्च गर्न नहुने मान्यताका आधारमा निर्णय गरेको उनले बताए। उनले संस्थाको खारेजी भए पनि न्यूनतम पारिश्रमिकसम्बन्धी काममा सरकार अझ प्रभावकारी रूपमा अघि बढ्ने स्पष्ट गरे।