काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास र चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले नेपाल आयल निगममार्फत सिलिगुडी–चारआली र अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढिरहेको जानकारी दिइन्। उनका अनुसार सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ भने अन्य प्राविधिक तयारी पनि अगाडि बढाइएको छ।
मन्त्री कुमारीले कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सडक स्तरोन्नति र औद्योगिक क्षेत्र विकासमार्फत उद्योगीलाई प्लट उपलब्ध गराउने काम भइरहेको बताइन्। उनले पेट्रोलियम भण्डारण क्षमता कुल मागको तीन महिनासम्म पुग्ने लक्ष्यअनुसार विस्तार भइरहेको पनि स्पष्ट पारिन्। त्यस्तै, चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन कूटनीतिक पहल भइरहेको जानकारी दिँदै उनले कृषि उपजहरूको भण्डारण समस्या समाधान र बजार पहुँच विस्तारका लागि वेयरहाउस निर्माणमा लागत साझेदारी कार्यक्रम अघि बढाइएको बताइन्। मन्त्री कुमारीले कृषि उपजको भण्डारण तथा बजार व्यवस्थापन सुदृढ गर्दै निर्यात प्रवर्द्धनमा सरकार केन्द्रित रहेको पनि स्पष्ट पारिन्।