काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सिता थपलियाले क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावका कारण बिरामीहरू गम्भीर समस्यामा परेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यसअघि पनि विषय उठाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो कायमै रहेको बताइन्। उनका अनुसार देशभरका बिरामी तथा परिवारजनले सिस्प्लाटिन उपलब्ध नभएको गुनासो गरिरहेका छन्। हालै भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका एक बिरामीले समेत औषधि खोजिदिन आग्रह गरेको उदाहरण उनले सदनमा प्रस्तुत गरिन्।
सांसद थपलियाले सिस्प्लाटिन कुन–कुन अस्पतालमा उपलब्ध छ भन्ने विवरण सार्वजनिक गर्न र यस्ता अत्यावश्यक औषधिको अभाव दोहोरिन नदिन तत्काल तथा दीर्घकालीन योजना स्पष्ट गर्न सरकारसँग माग गरिन्। उनले औषधि आपूर्ति र नियमन प्रक्रियामा भएको प्रगति र सुधार कहिलेदेखि देखिने भन्ने विषयमा पनि सरकारको स्पष्ट धारणा आवश्यक रहेको बताइन्। सांसद थपलियाले क्यान्सरजस्ता गम्भीर रोगका बिरामीको जीवनसँग जोडिएको विषयमा ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिन्।