काठमाडौँ। नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र चिया किसानहरू गम्भीर समस्यामा परिरहेका बेला सरकारले आवश्यक चासो नदेखाएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चियाको निर्यात प्रभावित भएको र त्यसको असर उद्योगी तथा किसानहरूमा प्रत्यक्ष रूपमा परेको बताए। उनका अनुसार भारतीय चिया बोर्डले लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण नेपाली चिया निर्यात प्रक्रियामा थप जटिलता सिर्जना भएको छ। नयाँ व्यवस्थाअनुसार चियाको गुणस्तर परीक्षणको प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने तथा सामान्य त्रुटि देखिए पनि उत्पादन नष्ट गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।
सांसद राईले यही कारण उद्योगी र किसानहरू आन्दोलित हुन बाध्य भएको तथा केही चिया प्रशोधन उद्योगमा ताला लगाउने अवस्था समेत सिर्जना भएको बताए। उनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने चिया क्षेत्र संकटमा पर्दा पनि सरकारले गम्भीरतापूर्वक पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। वार्षिक रूपमा ठूलो परिमाणमा चिया निर्यात हुने भए पनि उद्योगी र किसानका समस्या समाधानमा सरकारको सक्रियता नदेखिएको उनको भनाइ थियो। राईले चिया क्षेत्रसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न, किसान र उद्योगीको हित संरक्षण गर्न तथा आवश्यक कूटनीतिक र नीतिगत पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।