काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको निष्पक्षतामाथि प्रश्न उठाएपछि संसदमा विवाद भएको छ।
बुधबारको बैठकमा बोल्दै यादवले सभामुखको पूर्व राजनीतिक सम्बन्धलाई उल्लेख गर्दै उनी अझै पनि आफ्नो पुरानो दलसँग पूर्ण रूपमा अलग हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले सभामुख सदनका सम्पूर्ण सदस्यहरूको अभिभावक भएकाले पदको गरिमा र निष्पक्षता कायम राख्नुपर्ने धारणा राखे। यादवको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा आपत्ति जनाएको छ। रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीअनुसार विशेष प्रस्तावमाथिको छलफल बाहेक सभामुखको आचरणमाथि आलोचना गर्न नमिल्ने व्यवस्था रहेको उल्लेख गरे। उनले सभामुखलाई लक्षित गरेर गरिएको टिप्पणी नियमावलीविपरीत भएको दाबी गर्दै उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरे। साथै, आधारहीन आरोप र टिप्पणीले संसदीय मर्यादा कमजोर हुने भएकाले सबै सांसदले विधि र प्रक्रियाको सम्मान गर्नुपर्ने उनको भनाइ थियो। यस विषयलाई लिएर केही समय संसदमा बहस भएको थियो भने रास्वपाले सभामुखमाथि गरिएको टिप्पणीलाई असंसदीय भन्दै रेकर्डबाट हटाउन जोड दिएको छ।