काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले सरकारले संविधानले निर्धारण गरेको संसदप्रतिको उत्तरदायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानको धारा ७६९१०० अनुसार सरकार संसदप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसको पालना नभएको बताए। संविधानले सरकारलाई संसदप्रति जवाफदेही बनाएको छ, तर सरकारले त्यसअनुसार काम गर्नुको सट्टा संसदको गरिमामाथि नै प्रश्न उठ्ने गतिविधि गरिरहेको छ,’ उनले भने। सांसद शर्माले सरकारका विभिन्न गतिविधिबारे आफूहरूले पटक–पटक संसदमा आवाज उठाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट देशको सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउन आवश्यक रहेको बताए। उनले उक्त विषयमा निरन्तर ध्यानाकर्षण गराए पनि न सभामुखबाट आवश्यक रुलिङ भएको, न त सरकारका तर्फबाट स्पष्ट जवाफ आएको भन्दै असन्तुष्टि व्यक्त गरे। शर्माले संसदमा उठाइएका विषयमा सरकारले गम्भीरतापूर्वक जवाफ दिनुपर्ने र संवैधानिक दायित्वअनुसार संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राखे।