काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विवाद कायमै रहेको छ। उक्त विषयमा सभामुख डोलप्रसाद अर्यालले रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले उनको भूमिकामाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने माग दोहोर्याए। गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि विभिन्न स्थानमा भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिप्रति विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र सभामुखले यस विषयमा आवश्यक रुलिङ गर्नुपर्ने बताए।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि सभामुखको रुलिङको माग गरे। यसैबीच, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। उनले सभामुख अर्यालले आफ्नो पूर्व राजनीतिक सम्बन्धबाट पूर्ण रूपमा अलग हुन नसकेको आरोप लगाउँदै सदनको गरिमा कायम राख्न विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय दिनुपर्ने धारणा राखे। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउने तथा सभामुखबाट औपचारिक रुलिङ गराउने मागलाई निरन्तर उठाउँदै आएका छन्।