काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग सम्बन्धित सीमा विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो पार्टीको अडान अझै कायम रहेको उल्लेख गरे। साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनको माग थियो। सांसद साम्पाङले संसदको दोस्रो चरण (सेकेन्ड लट) सुरु गर्ने समय आइसकेको भन्दै सरकारको प्राथमिकता सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताए।
उनले सरकारी निर्देशनपछि विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाइँदा धेरै परिवार विस्थापित भई आश्रयविहीन बनेको दाबी गरे। हाल तीमध्ये धेरैजना कीर्तिपुरलगायत स्थानका होल्डिङ सेन्टरमा बस्न बाध्य रहेको उल्लेख गर्दै त्यहाँ खानेपानी तथा खाद्यान्नजस्ता आधारभूत सुविधाको समेत अभाव रहेको बताए। साम्पाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू पनि नेपाली नागरिक भएकाले उनीहरूको आवास, खाद्य तथा अन्य आधारभूत आवश्यकताको सुनिश्चितताका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।