तुलसीपुर । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई निर्मम कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्।
प्रहरीका अनुसार मगरले करिब तीन महिनाअघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाई, डर–धम्की दिँदै कुटपिट गरेका थिए। सोही घटनाको भिडियो उनले मंगलबार बेलुका ८ः३० बजे आफ्नै आधिकारिक फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल बनेको थियो।
खुकुरी देखाएर युवती कुटपिट गरिएको संवेदनशील भिडियो सार्वजनिक भएलगतै इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली तत्काल एक्सनमा उत्रिएको थियो। भिडियो पोस्ट भएको करिब सवा दुई घण्टापछि अर्थात् राति १०ः४० बजे प्रहरीले मगरलाई उनकै घरबाट नियन्त्रणमा लिन सफल भयो।
मगरको घरमा खानतलासी गर्दा प्रहरीले ठूलो परिमाणमा फर्मास्युटिकल लागुऔषध (प्रतिबन्धित औषधि) समेत बरामद गरेको छ। उनको कोठाबाट प्रगाम्याक्स १ ट्याब्लेट, ट्रोहमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोम ५ ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
सोही घटना र लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तुलसीपुर–२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी ज्यान मार्ने उद्योग, अभद्र व्यवहार तथा लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।