काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारको बजेट तथा नीति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै यसमा नयाँपन नदेखिएको टिप्पणी गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झण्डै दुईतिहाइ जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता ल्याउन नसकेको बताइन्। उनका अनुसार बजेट पुरानै संरचनामा सामान्य परिमार्जन मात्र गरिएको देखिएको छ। स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा विनियोजित बजेट पनि सहरी केन्द्रित र अत्यधिक महत्वाकांक्षी भएको भन्दै उनले आलोचना गरिन्। थापाले सांसदहरूले यी विषयमा निरन्तर प्रश्न उठाइरहेको उल्लेख गर्दै बजेटले जनअपेक्षा अनुसारको परिवर्तन दिन नसकेको टिप्पणी गरिन्। उनले संसदीय समितिमा मन्त्रीहरूको अनुपस्थितिका कारण छलफल प्रभावकारी हुन नसकेको बताउँदै नीति निर्माण प्रक्रियामा मन्त्रीहरूको सक्रिय उपस्थिति आवश्यक रहेको धारणा समेत राखिन्।