काठमाडौँ । शिक्षा उद्यमी तथा हिसान र प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले नेपाललाई शिक्षा, प्रविधि र कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक सत्रमा मुख्य वक्ताका रूपमा बोल्दै उनले विश्वका सफल अभ्यासलाई आधार बनाएर नेपालमा पनि लगानीमैत्री शिक्षा नीति निर्माण गर्नुपर्ने बताए। उनले गुणस्तरीय शिक्षाको अभावका कारण विद्यार्थी निजी विद्यालयतर्फ आकर्षित भइरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै सरकारी विद्यालयको स्तर पनि सुदृढ बनाउन आवश्यक रहेको धारणा राखे। नेपाललाई दक्षिण एसियाकै शैक्षिक केन्द्र बनाउन पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो।
श्रेष्ठका अनुसार देशभर रहेका २८ हजार सार्वजनिक विद्यालयमध्ये धेरै विद्यालयमा विद्यार्थी संख्या न्यून छ, जसका कारण शिक्षक व्यवस्थापनमा समेत समस्या देखिएको छ। उनले गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी ठूलो संख्यामा विदेश गइरहेको उल्लेख गर्दै उपयुक्त नीति भए नेपालमै शैक्षिक अवसर विस्तार गर्न सकिने बताए। उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा शुल्क तथा कर लगाउनु उपयुक्त नभएको धारणा राख्दै राज्यले यस्ता क्षेत्रमा सहजीकरण र प्रोत्साहनको नीति अवलम्बन गर्नुपर्ने बताए। श्रेष्ठले निजी क्षेत्रले शिक्षामा ठूलो लगानी गरिसकेको उल्लेख गर्दै अब सरकारले दीर्घकालीन र स्थिर नीति ल्याएर यस क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। साथै, निजी क्षेत्रलाई निरुत्साहित गर्नेभन्दा पनि सहकार्य र प्रोत्साहनमार्फत शिक्षा क्षेत्रको समग्र विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।