काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले नेपालको शिक्षा क्षेत्रमा पछिल्लो समय ‘लर्निङ क्राइसिस’ अर्थात् सिकाइ संकट देखिएको भन्दै यसलाई सुधार गर्न तत्काल ध्यान दिनुपर्ने बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ कार्यक्रममा की–नोट वक्ताका रूपमा बोल्दै उनले विगत तीन दशकमा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सिकाइको गुणस्तर अझै चुनौतीपूर्ण रहेको बताए। उनका अनुसार पहिलो चरणमा विद्यालयमा विद्यार्थीको पहुँच विस्तार गर्न ठूलो प्रयास गरिएको थियो भने दोस्रो चरणमा शिक्षालाई समावेशी बनाउने काम भयो। अहिले शिक्षा क्षेत्र सिकाइको गुणस्तर र उपलब्धि सुधार गर्ने तेस्रो चरणमा प्रवेश गरेको उनले उल्लेख गरे।
एक समय विद्यालयमा विद्यार्थी भर्ना गराउन कठिन अवस्था रहे पनि अहिले नेपालमा शैक्षिक पहुँच उल्लेखनीय रूपमा बढेको र यसलाई अन्तर्राष्ट्रिय निकायहरूले समेत स्वीकार गरेको उनले बताए। राज्य, विकास साझेदार र अन्य सरोकारवालाको संयुक्त प्रयासबाट यो उपलब्धि सम्भव भएको उनको भनाइ थियो। हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा करिब ६० प्रतिशत पुगेको उल्लेख गर्दै उनले यसलाई अझ सुधार गर्न धेरै काम गर्न बाँकी रहेको बताए। डा. शर्माले सामुदायिक र निजी विद्यालयबीचको बहस लामो समयदेखि भावनात्मक र राजनीतिक रूपमा केन्द्रित रहेको भन्दै अब यसको व्यावहारिक समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए। साथै, निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तन प्रवर्द्धन र अभिभावकलाई विद्यालय छनोटको अवसर प्रदान गरेर महत्वपूर्ण योगदान दिएको उनको धारणा थियो।