काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा स्वास्थ्य क्षेत्रका विविध सहकार्यका विषयमा छलफल गरिएको हो। छलफलका क्रममा स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य पूर्वाधार सुधार, गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी र औषधि उत्पादन जस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा विशेष ध्यान दिइएको थियो। सो अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न आग्रह गरिन्। जवाफमा राजदूत पार्क ताय योङले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा कोरियाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ मजबुत र प्रभावकारी हुने विश्वास व्यक्त गरे।