काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सप्तरीको राजविराजमा करिब ८५ वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू हालसम्म पनि लालपुर्जा नपाएर आन्दोलनमा रहेको जानकारी दिए। ती बासिन्दाले नगरपालिकालाई कर तिर्दै आए पनि स्वामित्व प्रमाणपत्र नपाउनु अन्यायपूर्ण भएको उनको भनाइ थियो। त्यस्तै, उनले सुनसरीको रामधुनी–७ क्षेत्रको करिब ६४ बिघा जमिनमा ६६ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयले पनि अझै लालपुर्जा नपाएको उल्लेख गरे। हाल त्यहाँ नक्कली जग्गाधनी खडा गरी स्थानीयलाई दुःख दिने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाए। सांसद राईले सीमा क्षेत्रमा हुने डुबान, भूमिहीन समस्या तथा माइतीघर मण्डलामा जारी आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने बताए। उनले रौतहटको गौर आसपासमा भारततर्फबाट गरिएको बाँध निर्माणका कारण नेपाली भूभाग डुबानमा परेको रिपोर्ट आएको उल्लेख गर्दै यस विषयमा कूटनीतिक रूपमा ध्यान दिन आग्रह गरे। साथै, उनले माइतीघर मण्डलामा लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको माग सम्बोधन गर्न सरकारसँग विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याए।