महेन्द्रनगर। नेपाल र भारतका उच्च अधिकारीहरू सीमा स्तम्भ (पिलर) हरूको संरक्षण, मर्मत तथा पुनर्निर्माण कार्यलाई थप तीव्रता र प्रभावकारिताका साथ अघि बढाउन सहमत भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सोमबार बसेको ‘नेपाल–भारत संयुक्त सीमा सर्वे फिल्ड टोली नम्बर–४’ को विशेष बैठकमा दुवै पक्षीय अधिकारीहरू सीमा संरचनाको भौतिक अवस्था सुधार गर्ने विषयमा एकमत भएका हुन्।
बैठकमा संयुक्त सीमा सर्वे टोलीका प्रमुख ज्ञानेन्द्र विष्टले चालू आर्थिक वर्षमा भएका कामहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। जसअनुसार यस अवधिमा सुदूरपश्चिमका पाँच जिल्लामा ११ वटा सीमा स्तम्भको पुनर्निर्माण र ५२ वटाको मर्मत कार्य सम्पन्न भएको छ। टोलीले ४०२ वटा सीमा स्तम्भको स्थलगत निरीक्षण गरेकोमा अधिकांश स्तम्भहरू जीर्ण अवस्थामा फेला परेकाले आगामी दिनमा मर्मत र पुनर्निर्माणलाई मुख्य प्राथमिकता दिइने निष्कर्ष निकालिएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले यो बैठक सीमा विवाद समाधानतर्फ भन्दा पनि वर्षौँदेखि जीर्ण बनेका स्तम्भहरूको भौतिक व्यवस्थापन र संरक्षणमा मात्रै केन्द्रित रहेको स्पष्ट पारे। बैठकमा दुवै देशका प्रशासन, सुरक्षा, नापी र वन क्षेत्रका अधिकारीहरूबिच सीमा स्तम्भको प्रभावकारी व्यवस्थापन गर्ने विषयमा महत्त्वपूर्ण छलफल र सहमति भएको उनको भनाइ छ।
नेपाली पक्षको नेतृत्व गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विगत तीन महिनाको कार्य समीक्षा गर्दै हराएका स्तम्भहरूको खोजी गर्ने र भत्किएका संरचनाहरूको मर्मत कार्यलाई अझ तीव्र बनाइने जानकारी दिए।
त्यसैगरी, भारतीय टोलीको नेतृत्व गरेका उत्तराखण्ड राज्यको उधमसिंह नगरका जिल्ला अधिकारी डीएम नितिन सिंह भदौरियाले संयुक्त टोलीको कार्यलाई परिणाममुखी बनाउन भारतको तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता रहने विश्वास दिलाए।
द्विपक्षीय बैठकमा नेपालका तर्फबाट कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका अधिकारीहरू सहभागी थिए। यस्तै, भारतका तर्फबाट उत्तर प्रदेशको पिलिभित, लखिमपुर खिरी र उत्तराखण्डको उधमसिंह नगर, चम्पावत तथा धार्चुला जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।