काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप फुटबल प्रतियोगिताको प्रसारण आम नागरिकका लागि निःशुल्क उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था धेरै नागरिकको पहुँचभन्दा बाहिर रहेको बताए। उनका अनुसार यस्तो शुल्कका कारण ठूलो संख्यामा दर्शकहरू प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित भइरहेका छन्। हमालले विश्वकपप्रति जनताको अत्यधिक चासो रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमार्फत खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, विश्वकपप्रति सबैको चासो छ। तर हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्था छ, जुन सबैको पहुँचमा छैन। अब त प्रसारणको आम्दानी पनि उठिसकेको होला। त्यसैले नेपाल सरकारले आफ्नो टेलिभिजनमार्फत निःशुल्क प्रसारणको व्यवस्था गर्नुपर्छ। सांसद हमालले सेवा प्रदायकहरूलाई पनि आम नागरिकको पहुँचलाई ध्यानमा राख्दै शुल्क नलिन आग्रह गर्न सरकारमार्फत अनुरोध गरेका छन्।