काठमाडौँ। मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका बासिन्दाले जीर्ण र हिलाम्मे सडकको समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्।
वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बन्दै गएपछि दैनिक आवतजावतमा कठिनाइ झेलिरहेका स्थानीयले पटक–पटक समस्या समाधानको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। त्यसैको विरोधस्वरूप उनीहरूले सडकलाई खेतझैँ बनाएर सांकेतिक रूपमा धान रोपाइँ गरेका हुन्। स्थानीय विजय ओझाका अनुसार टोलको मुख्य सडक लामो समयदेखि बेहाल अवस्थामा छ। सडक मर्मतका लागि वडा कार्यालयमा मौखिक तथा लिखित रूपमा बारम्बार आग्रह गरिए पनि हालसम्म कुनै प्रभावकारी कदम चालिएको छैन। उनले सडकको अवस्थाले पैदल हिँड्नसमेत समस्या हुने गरेको बताए।
स्थानीयवासीले सडकमा सामान्य मर्मत तथा मिसगिटी हाल्ने काम मात्र भए पनि तत्काल राहत पुग्ने बताएका छन्। तर सम्बन्धित निकायले चासो नदिएपछि बाध्य भएर रोपाइँमार्फत विरोध जनाउनुपरेको उनीहरूको भनाइ छ। स्थानीय खेमकुमारी गौतमले आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकले भोगिरहेको समस्या समाधानका लागि गरिएको स्पष्ट पारिन्। उनका अनुसार यो कार्यक्रम सम्बन्धित निकायलाई जिम्मेवार बनाउन र सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको हो। स्थानीयले सडकको तत्काल मर्मत तथा स्तरोन्नतिको माग गर्दै वडा कार्यालय र नगरपालिकासँग शीघ्र पहल गर्न आग्रह गरेका छन्। साथै, समयमै समस्या समाधान नभए थप चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्।