काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीचको सम्बन्ध, विकास सहकार्य तथा क्षेत्रीय सहयोगका विषयमा छलफल भएको बताइएको छ।
वाङ यीले चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपाललाई विशेष महत्त्व दिँदै आएको उल्लेख गर्दै नेपाली जनताप्रति सधैं मैत्रीपूर्ण दृष्टिकोण राख्ने बताएका छन्। नेपाल र चीनबीच लामो समयदेखिको घनिष्ठ मित्रता रहेको स्मरण गराउँदै उनले नेपालको विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा चीन भरपर्दो साझेदारका रूपमा रहने विश्वास व्यक्त गरे। उनले ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो’ भन्ने उखान उल्लेख गर्दै चीनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको बताए। साथै, उच्चस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउँदै विद्युत् प्रसारण, सडक सञ्जाल, सीमा नाका र हवाई यातायातजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको उनले बताए। यसले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट क्षेत्रीय सम्पर्कको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
वाङले दुवै देशले उपलब्ध सहकार्य संयन्त्रहरूको प्रभावकारी उपयोग गर्दै आर्थिक तथा सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिने उल्लेख गर्दै नेपालले पारदर्शी र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्ने अपेक्षा पनि व्यक्त गरे। भेटका क्रममा मन्त्री खनालले नेपालको विकास र जनजीवन सुधारमा चीनले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले चीनले सधैं नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्दै समान व्यवहार गरेको बताए। खनालले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको दोहोर्याउँदै चीनको राष्ट्रिय हितविपरीत कुनै गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाए। साथै, चीनको आर्थिक प्रगतिले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले चिनियाँ लगानी र व्यवसायलाई नेपालमा स्वागत गरिने तथा निष्पक्ष, कानुनसम्मत र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराइने बताए।